तालतलैयामा प्रदेश १ कै पहिलो व्यावसायिक मोटरबोट शुरु मोटरबोटले पर्यटक संख्या र खर्च दुवै बढायो ः कर्मचारी

  • प्रकाशित मितिः श्रावण 14, 2075
  • विराट अनुपम
  • 1803 पटक पढिएको

इटहरी/ प्रदेश १ को सप्तकोशी नदीमा व्यावसायिक रूपमा जेटबोट त चलेको हो । अब इटहरीमा मोटरबोट पनि सञ्चालन हुन थालेको छ । इटहरीको वडा नम्बर २ र ३ मा फैलिएको पर्यटकीय जलाधार क्षेत्र तालतलैयामा शनिबारबाट मोटरबोट सञ्चालनमा आएको छ ।

प्रदेश १ कै पहिलो व्यावसायिक मोटरबोटको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सांसद र इटहरीका जनप्रतिनिधिहरूसँगै गरेका थिए । १० सिट क्षमताको मोटरबोटमा तालतलैयाको मुख्य पोखरी क्षेत्रमा एक फन्को लाएर मुख्यमन्त्रीले उद्घाटन गरेका थिए । मुख्यमन्त्रीले शनिबार बिहान ९ बजे उद्घाटन गरेको मोटरबोट १ बजेबाट पहिलो पटक व्यावसायिक रूपले सञ्चालनमा आएको थियो । न्यूनतम ४ फिट गहिरो पानीमा चलाउन मिल्ने मोटरबोट चलाउन तालतलैया क्षेत्रको प्राकृतिक पानीमा सहज हुने मोटरबोट चालक धनबहादुर पाण्डेले बताए ।

मोटरबोटले खर्च र आगन्तुक दुवै बढायो ः कर्मचारी
तालतलैया व्यवस्थापन समितिले खरिद, भन्सार र करसहित ८ लाख हाराहारीमा ल्याएको एउटा मोटरबोटमा १ पटक सफारी गर्न १ जनालाई १ सय रुपैयाँ तोकिएको छ । पाण्डेका अनुसार शनिबार उद्घाटनकै दिन ७० जनाले मोटरबोट चढेका थिए । अफ सिजन भनिने आइतबार पनि मोटरबाटे चढ्न ३० जना आएको चालक पाण्डे बताउँछन् ।

मोटरबोटको टिकेटिङमा काम गर्ने कर्मचारी कमला तामाङका अनुसार शनिबार इटहरी क्षेत्रका आगन्तुकहरू आएकोमा आइतबार भने धरानबाट धेरै आएका थिए । ‘धेरै जनाले फेसबुक र मुख्यमन्त्री चढेको सुनेर आएको भन्दैथे’, तामाङले भनिन्, ‘अब धेरैले चढ्न आउँछन् जस्तो छ ।’

तालतलैयामा मोटरबोटको व्यावसायिक सञ्चालनसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्ने सञ्चालक समिति अध्यक्ष वीरबहादुर लिम्बू बताउँछन् । पर्यटकहरूको आगमनसँगै पर्यटकहरूले गर्ने खर्च पनि बढ्ने लिम्बूले बताए । उनका अनुसार हाल प्रवेश टिकटबापत १०, बाल उद्यान प्रवेशको ३० र जलपरी रिक्सामा चढ्नलाई ५० रुपैयाँ खर्च गर्छन् पर्यटकले । यसरी एकमुष्ट सबै प्रोडक्टमा खर्च गर्दा पनि ९० रुपैयाँ मात्रै प्रतिव्यक्ति तालतलैयामा खर्च हुने वातावरण थियो ।

अब मोटरबोटमा एक जनाकै १ सय रुपैयाँ लाग्ने भएसँगै पर्यटकीय खर्च पनि बढेर जाने तालतलैया क्षेत्रका वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण बिष्ट बताउँछन् । बिस्ट मात्रै होइन वडा नम्बर २ का अध्यक्ष हर्क मगर पनि तालतलैयामा मोटरबोट सञ्चालनसँगै वडाको पर्यटकीय आम्दानी बढ्ने बताउँछन् ।

उनी भन्छन्, ‘इटहरीको पर्यटकीय क्षेत्र भनेकै तालतलैया र तालतलैया भनेकै इटहरीको पर्यटन भएको अवस्थामा मोटरबोट सञ्चालनले थप राम्रो भएको छ ।’

समस्या ः कमसल बाटो र महँगो सवारी खर्च
प्रदेश १ मा पहिलोपटक व्यावसायिक मोटरबोट चलाएको इटहरीको तालतलैयाले जलपरी रिक्सा पनि पहिलो पटक नै चलाएको थियो । प्रदेश १ मै पहिलोपटक वृहत अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला समेत गरेको थियो । यत्ति हुँदाहुँदै पनि स्तरीय पर्यटकीय बाटो र सहुलियतपूर्ण सवारी खर्च अभावमा पर्यटकीय आवागमनमा असर परेको स्थानीय बताउँछन ।

तालतलैया क्षेत्रको इटहरी ३ मै जम्मेका इटहरीका युवा सुनिल कार्की इटहरीको एक्लो पर्यटकीय बाटोमा पनि नगरले बेवास्ता गर्दा समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘स्तरी पिच छैन । बाटोभरि खाल्डाखुल्डीले सहज हिँड्न हैरान हुन्छ ।’ कार्की मात्रै होइन तालतलैयाकी कर्मचारी कमला तामाङ पनि पर्यटकहरूलाई मात्रै होइन, स्थानीयलाइ पनि सो क्षेत्रमा यात्रा गर्न महँगो पर्ने बताउँछिन् ।


सामान्य सिटी सफारीले आउनेजाने भाडा ४ सय रुपैयाँ लिने भएकाले आन्तरिक पर्यटक तालतलैया भन्दा नजिक र सस्तो पर्ने गोकुलम र गोकर्ण रिसोर्टमा जाने उनी बताउँछिन् । तामाङका अनुसार सिटी सफारी र अटोले पनि बाटो खराबी भएकाले तालतलैया आउन नयाँ पर्यटकहरूलाई प्रेरित गर्दैनन् ।

तामाङ भन्छिन्, ‘स्थानीयलाई नै इटहरी चोक आउनजान सफारी र अटोमा १ सय लाग्छ । झन् पर्यटकलाई त बढी लिइहाल्छन् । हरेक घण्टा चल्ने गाडीको व्यवस्था भएमा यहाँ धेरै सहज हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६