अध्ययन र अभ्यासबाट सूचना प्रविधिमा सफलता मिल्छः अमरेशप्रसाद चौधरी

  • प्रकाशित मितिः चैत्र 20, 2076
  • मधेश स्पेशल
  • 1023 पटक पढिएको

सन्जोग बाबु दाहाल
युवा अवस्था । सञ्चार प्रविधिको अध्ययन । त्यसमाथि पनि सबैतिर सूचना तथा प्रविधिको राम्रो बजार बढिरहेका बेला अमरेशमा पनि यसै क्षेत्रमा केही गरौं भन्ने चाहना थियो । साथीभाइको हौसला र अग्रजको सल्लाहका कारण अमरेशले सूचना प्रविधि त्यसमा पनि वेब डिजाइनिङको अध्ययन र अभ्यासलाई र आर्थिक स्रोतको माध्यम बनाउने मनसाय बनाए ।

‘अहिले युग नै सूचना प्रविधिको छ, जानेको मान्छेले गर्नुपर्छ’ भन्ने साथीभाइको हौसलाबाट प्रेरित अमरेश विगत ११ वर्षदेखि वेब होस्टिङ र डिजाइनिङको क्षेत्रमा छन् ।

स्नातक तहको अन्तिम सेमेस्टरको परीक्षा सकेर केही काम कतै पाइन्छ कि भनेर उनी यताउता भौतारिरहेका थिए । फाट्टफुट्ट काम नगरेको पनि होइन । कति काम त अभ्यासकै लागि पनि गरे । अमरेश भन्छन्, ‘अभ्यासले आत्मविश्वास बढाएको थियो, अब त केही गर्न पक्कै सकिन्छ भन्ने भएपछि संस्थागत रुपमा अघि बढियो ।’

केही मन मिल्ने साथीहरु भेला भएपछि एकअर्काबाट सिक्दै सिकाउँदै गए । केही समयसम्म यो क्रम चल्यो । अमरेश भन्छन्, ‘मिलेर संस्थागत रुपमा अगाडि जाँदा भविष्य राम्रो होला भनेर त्यसबेला हामीले संस्था दर्ता गर्यौं, सुरुमा त साथीभाइ र आफन्तले काम दिनुहुन्थ्यो ।’

नेपालमा अहिलेको जस्तो वेबसाइटहरु निर्माण गर्ने लहर चलेको थिएन । स्मार्ट फोन पनि सबैको हातहातमा थिएन । अमरेश भन्छन्– आउट सोर्सिङ पनि ठीकै थियो । हातहातमा स्मार्ट फोन अहिलेजस्तो छ्यापछ्याप्ती थिएन । रहर हुनेहरुले वर्डप्रेस, ब्लगस्पोट जस्ता साइट प्रयोग गर्थे । अहिले माहोल फेरिएको छ । सबै संचार माध्यम तथा सिंगो नेपाल नै डिजिटल हुने प्रयासमा रहेको छ । केही कमाउन चाहनेले पनि राम्रो गरेका छन् । समग्रमा अहिले वेब डिजाइनिङको स्कोप बढिरहेको छ ।’

अमरेशको कम्पनीले मूलतः वेब होस्टिङ र डिजाइनिङको काम गर्छ । विभिन्न संस्था तथा सरकारी र गैरसरकारी कार्यालयलाई आवश्यक पर्ने सफ्टवेयरको काम गर्दछ । पहिले जस्तो सेवाग्राही पाउन त्यति कठिन छैन । अमरेश भन्छन्, ‘हाम्रो सम्पर्कमा क्लाइन्टहरु आउने माध्यम भनेको माउथ पब्लिसिटी नै हो । अब त धेरैले चिनिसक्नु भएको छ । साथीभाइ तथा शुभचिन्तकहरुको बढ्दो सञ्जालले हामीलाई काम पाउन सजिलो भइरहेको छ ।’

सुरुमा अमरेशलाई स्थापित भएर अघि बढ्नुपर्ने थियो । त्यहीअनुसारको संघर्ष पनि थियो । अहिले बजार निकै नै प्रतिस्पर्धात्मक छ । अहिले पनि संघर्ष उस्तै नै छ । अमरेश भन्छन्, ‘संघर्ष भन्ने कुरा जति गरे पनि नसकिने रहेछ भन्ने महसुस हुन्छ । सुरुमा त्यस्तै प्रकारको संघर्ष थियो, स्थापित भएर अघि बढ्नुपर्ने थियो । अहिले बजार प्रतिस्पर्धात्मक छ ।’

सूचना प्रविधिको यो बजारमा सेवाग्राहीको मागलाई प्राथमिकतामा राखेर काम गरिन्छ । उनीहरुसँगको सम्झौता र आवश्यक्ताअनुसार पोर्टल, एपहरुको निर्माण गरिन्छ । प्रविधिको नयाँनयाँ मागहरुलाई अपडेट गर्ने क्लाइन्टको आवश्यक्तालाई बुझ्ने प्रयास गरिरहेका छन् अमरेश । उनी भन्छन्, ‘हामीलाई यस्तो लाग्छ कि हामी स्वयम् अहिले पनि सिक्ने क्रममा छौं । समय नै गतिशील छ । त्यही गतिमा सूचना प्रविधिको क्षेत्रले पनि फड्को मारिरहेको छ । क्लाइन्टहरुसँगको सम्झौता, माग एवम् आवश्यक्ताअनुसार हामी अपडेट हुँदै जाँदैछौं ।’

परम्परागतमात्रै होइन । सूचनाको विश्व बजारमा नयाँ प्रयोग आइरहेका छन् । अमरेशको कम्पनीले यसलाई पनि आत्मसात् गरिरहेकै छ । विश्व बजारमा कुन कुराको के कस्तो परिवर्तन भइरहेको छ भन्ने थाहा पाउनु अहिलेको युगमा टाढाको कुरा भएन । विश्वका नयाँनयाँ प्रयोगलाई घरमै वा कार्यालयमै बसेर पनि नजिकबाट नियाल्न सकिन्छ । आवश्यक्ता अनुसार यस्ता प्रविधिको आत्मसात् गर्ने गरेको अमरेश बताउँछन्, ‘हामीले वा हामी जस्तै नेपाली कम्पनीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्छौं भन्ने हाम्रो आत्मविश्वास छ । अबको समयमा विश्वबजारलाई नियाल्न कठिन छैन ।’

वेब डिजाइनिङको स्कोप राम्रो छ भन्छन् अमरेश । पर्याप्त ज्ञान हासिल गरेर ‘केही गर्छु’ भनेर मिहिनेत गर्ने जो कसैलाई यो क्षेत्रले राम्रै साथ दिएको ठान्छन् उनी । सम्भावना चुनौती सबै क्षेत्रमा हुन्छन् । बद्लिँदो प्रविधि, प्रतिस्पर्धात्मक बजारका कारण अहिले तत्कालै स्थापित भइहाल्छु भन्ने हुँदैन । त्यसका लागि संघर्ष सबै क्षेत्रमा आवश्यक रहेको ठान्छन् उनी । सूचना प्रविधिको क्षेत्रमा भविष्य कस्तो होला भनेर चासो राख्नेहरुका लागि यो क्षेत्रले खुसीको खबर दिने अमरेशको भनाइ छ । उनी भन्छन्, ‘यसको स्कोप बढ्दै गएको छ । नेपालमा हरेक सरकारी कार्यालयहरुमा सूचना प्रविधिको ज्ञान भएको मान्छेको अभाव खड्किएको छ । सबै स्थानीय तहले १ जना सूचना प्रविधि अधिकृत नियुक्त गरेका छन् । आफ्नै तरिकाले केही गर्छु भन्ने हो भने पनि मिहिनेत गर्दै गए यो फिल्डमा घाटा हुँदैन ।’
तर, राम्रो अध्ययनले मात्र यो क्षेत्रमा अगाडि बढाउनु पर्ने अमरेशको सुझाव छ । अमरेश भन्छन्, ‘अध्ययन र अभ्यासविना कुइरोमा हराएको कागजस्तै भइन्छ ।’

– अमरेशप्रसाद चौधरी, बागबजारस्थित वेबसञ्जाल ९वेबसाइट, सफ्टवेयर र मोबाइल एप्स० कम्पनीका सञ्चालक हुन् । किशोरअवस्थामै सूचना प्रविधिको क्षेत्रमा उल्लेखीय प्रगति गरेका उनीसँग गरिएको कुराकानीमा आधारित यो सामग्री प्रस्तुत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६