तथ्यांकमा काेराेना भाइरस - COVID - 19

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

  • प्रकाशित मितिः आश्विन 27, 2077
  • मधेश स्पेशल
  • 421 पटक पढिएको

सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रोमा दानादेवी सदाको आठ जनाको परिवार अटाएको छ। पाँच छोरी र एक छोरासँगै बस्दै आएकी दानाको दम रोगका कारण आइतवार निधन भयो। साहुसँग पैचो लिएर जसोतसो मृत्युपछिको कर्म गरेका दाना परिवारलाई माइनजले मृत्युकर्मपछिको भोजका लागि जारी गरेको फरमानले चिन्तित बनाएको छ।

साहुको ऋणले चलेको दानाको जिन्दगी ऋणमै अन्त्य भयो। साहुको ऋणले थिलथिलो सदा परिवारमाथि मृत्युको कर्मभोज चलाउन माइनजनले सुनाएको फरमान अकाट्य हो। आर्थिक हैसियत नहुँदा पनि दानाका छोरा जोगी सदाले ‘सक्दिन’ भन्न सकिरहेका छैनन्। ऋण काढेर भोज चलाउनुपर्ने बाध्यता भए पनि यतीको ऋण कसले पत्याउला भन्ने चिन्तामा डुबेका छन्, जोगी। ‘कतबो कन्जुसी करबै त ५० हजार स कम खर्च नै हेतै(जती कन्जुस्याइँ गर्दा पनि पचास हजार भन्दा कम खर्च हुँदैन)’ दानाकी छोरी दुखनीले नागरिकसँग भनिन्,‘कत स लाबु अते ढौवा(कहाँबाट ल्याउनु यती धेरै रुपैयाँ)। हमरा जका करिबके दुई चाईर हजार सँ बेसी साहु नै पतिएतै(हामी जस्ता गरिवलाई साहुले पत्याउने भनेको दुई चार हजार हो) उनले दुखेसो पोखिन्, ‘माइनजन सब भोज करैए परतै कहैछै(जातीय माइनजन भोज गर्नै पर्छ भनिरहेका छन्)। माइनजनको फरमान नमाने जातीय बहिस्कारको डर छ, यो परिवारलाई।

‘माइके किरियाकर्म करलेल त पाँच हजार ऋण लिय परलै(आमाको मृत्युकर्म गर्न त साहुबाट पाँच हजार ऋण लिनुपर्यो) दुखनी भन्छिन्,‘सुकुम्बासीके अते रुपैयाँ के पतिएतै( हामी सकुम्बासीलाई कसले यती धेरै ऋण पत्याउँछ)। ‘ने राधाके न मन घि हेतै ने राधा नचतै(न हामीलाई कसैले ऋण पत्याउँछ न हामी भोज गर्न सक्छौं)।’

मधेसमा माइनजनले जातीय कर्म चलाउने, वादविवाद मिलाउने, ग्राम देवताको पूजा चलाउन गाउँलेलाई ऐक्यबद्ध गराउने आदि काम गर्दै आएका छन्। समुदायमा जन्म, मृत्यु, विवाह संस्कारदेखि भोजभतेरका बारेमा निर्णय उनीहरुले नै निर्णय गर्छन्। उनीहरुको निर्णय सबैले पालना गर्नु अनिवार्य कानुन सरह मानिन्छ । निर्णय नमानेमा समुदायभित्र जातबाट निकाला गर्छन् ।  

कान्छी छोरीको बिवाह खर्च जुटाउन दानाकी पत्ती गुलचन सदा अढाई वर्षदेखि वैदेशिक रोजगारमा छन्। साहुसँग ऋण लिएर साउदी कमाउन गएका थिए उनी। साहुको ऋण चुकाउन नपाउँदै उनी बेरोजगार भए। कोरोना कहरका कारण रोजगार गुमाएका उनीसँग घर फर्किने रकम समेत छैन। कोरोनाको कहर मत्थर भए पुनः रोजगारदाता कम्पनीले काममा बोलाउँला कि आशमा बसेका छन्, गुलचन।

गुलचनको रोजगारसँग कान्छी छोरीको बिवाह मात्र जोडिएको थिएन। दानाको उपचार पनि जोडिएको थियो। मासिक पठाउने रकमबाट साहुको ऋण तिरेर बाकी रहेको रकमबाट केही रकम दानाको औषधिउपचारमा खर्च हुन्थ्यो। उनी दमको दिर्घ रोगी थिइन्। गुलचनको रोजगार नखोसिएको भए दानाको उपचारक्रम रोकिँदैन्थ्यो। उपचार नरोकिएको भए दानाको तत्काल निधन हुँदैन्थ्यो।

‘उमहर बाबुके काम छुइट गेलै इमहर माइके दबाइ छुइट गेलै(उत्ता बुवाको काम रोकियो यता आमाको औषधिको डोज टुट्यो) दुखनी भक्कानिन्,‘बाबुके काम नैछुइटतियै त माई अखनते नै मैरतियै(बुवाको काम न रोकिएको भए आमा अहिले नै मर्नुहुन्नथ्यो)।’

दमको विरामीले च्याप्दा पनि दाना मजदुरीलाई निरन्तरता दिँदै आएकी थिइन्। सात जनाको परिवार भोकभोकै बस्नु नपरोस भनेर उनी विरामी अवस्थामा पनि मजदुरी गरिरहिन्। आइतबार पनि उनी जमिन्दारको खेतमा धान गोडमेल गर्न जाँदै थिइन्। अचानक साँस फेर्न गाह्रो भयो। उनी बाटोमै ढलिन्। छिमेकका मानिस जम्मा भए। अस्पताल लैजान तयरी गर्दासम्म उनको सास बन्द भैसकेको थियो।  

दानाको मृत्युपछि परिवारको भार सदा परिवारका एक्ला छोरा जोगीको काँधमा आएको छ। कोरोनाका कारण कतै रोजगार पाइदैन। सबैले काम छैन मात्र भन्छन्। जोगीले भने,‘रोजगार नपाए परिवार कसरी पाल्नु ? आमाको किरियामा लागेको खर्च, भोजको खर्च कहाँबाट चुकानु किरियापुत्र उनले भने,‘दुःखको पहाड हामी गरिवकै घरमा किन खस्छ।’  

सिरहाका पलट सदा र विनोद सदा मुसहर समुदायका माइनजन छन्। उनै दुबैजनाले दानादेवीको मृत्युकर्मपछिको भोज गर्न फरमान जारी गरेका छन्। माइनजले सुनाएको फरमान दानादेवी परिवारका लागि अकाट्य छ। माइनजनको कुरा काट्ने आँट प्राय कसैले गर्दैनन्। ऋण लिएरै भए पनि भोज खुवाउनै पर्ने सदा परवारको बाध्यता छ।  

मृत्युकर्मपछिको भोजको बोझले पिरोलिएका यस परिवारमा भने चुलो नबलेको पनि एक साता भएको छ। गाउँका मनकारीले दिएको खानेकुरा खाएर उनीहरुले भोक मेट्दै छन्। शनिबार बिहान यस परिवारलाई स्थानीय राजेन्द्र मण्डलले ३० किलो चामलको प्याकेट सहयोग गरेपछि बल्ल चुलो बलेको छ।

खाद्यान्न सहयोग गर्दै स्थानीय राजेन्द्र मण्डल

ऋण लिएर भए पनि माइनजनले भनेअनुसार मृत्युकर्मपछिको भोज गर्न दानादेवी परिवार मात्र बिवस छैनन्। मधेसमा यस्ता धरै परिवार माइनजनको फरमानका कारण ऋणको बोझले अत्यास जिन्दगी बाच्न बाध्य बनिरहेका छन्।

००

लहान नगरपालिका –१४ पिडरबनीका दोरिकलाल पासवानका पिता शिवुको गत जेठ १४ मा निधन भयो। मृत्युको कर्मभोज चलाउन माइनजनले सुनाएको निर्णय द्वोरिकलालका लागि अकाट्य थियो । आर्थिक हैसियत नहुँदा पनि उनले ‘सक्दिन’ भन्न पाएनन् । ऋण काढेर चार सय जनालाई भोज चलाए । ५ कट्ठा मात्र जमीन भएका उनले सहुसँग ऋण लिएर भोज त चलाए। तर उनलाई ऋणमा डुबायो।  

मधेसी समाजमा माइनजन प्रथा हाबी हुँदा गरिब र बिपन्नहरुको बिल्लीबाठ भएको सिरहाका यी प्रतिनिधि घटना मात्र हुन। कर्म चलाउनुपर्छ, संस्कार मान्नुपर्छ तर व्यतिmको आर्थिक क्षमता मुल्यांकन नै नगरी माइनजनले निर्णय लिँदा बिपन्नहरु ऋणको भारीले बोझिँदै छन्।

मधेसमा माइनजनको जिम्मेवारी जातीय कर्म चलाउने, वादविवाद मिलाउने, ग्राम देवताको पूजा चलाउन गाउँलेलाई ऐक्यबद्ध गराउनु रहिआएको छ । टोल, बस्तीका ती ‘माइनजन’ ले समुदायको जन्म, मृत्यु, विवाह संस्कारदेखि भोजभतेरका बारेमा निर्णय सुनाउँछन्। उनले सुनाएको निर्णय सबैले पालना गर्नु अनिवार्य कानुन सरह मानिन्छ । जातीय माइनजनले भोजभतेर र निमन्त्रणालगायत बिहेबटुलोको मुख्य जिम्मेवारी वहन पनि गर्छन् । कति जनालाई भोज खुवाउने पनि माइनजनले निर्धारण गर्छन्। आफ्नो समुदायमा हरेक कुराको निर्णय माइनजनले लिन्छन्। निर्णय नमानेमा समुदायभित्र जातबाट निकाला गर्छन् । यद्यपि उनीहरुले यसको लिखित अधिकार भने कहीँबाट पाएका छैनन्।

मधेसमा प्रचलित ‘माइनजन’ प्रथामा पछिल्लो सामूहिक मानवीय सोच हराउँदै गएको स्थानीय बुद्धिजीबी देवकुमार यादव बताउँछन् । मुसहर, चमार, डोम, पासवानदेखि यादव, महतो, हलुवाई, सुडी, कुर्मीलगायत जातिमा माइनजनको प्रभाव छ । सामाजिक सुव्यवस्थाका लागि शक्तिशाली मानिएको यो प्रणाली पछिल्लोपटक माइनजनको व्यक्तिगत सोचमा आधारित भएर निर्णय लिने गरिएकाले ‘बदनामीको घेरा’ मा परेको छ । जसका कारण कुनै समयमा सशक्त र शक्तिशाली मानिएको यो माइनजनी प्रथा सम्बन्धित जातीय समुदायले नै बेवास्ता गर्नुपर्ने अवस्थामा पुगेको सिरहाका समाजसेवी नविन कुमार यादवको भनाइ छ ।

मधेसी समाजमा जातैपिच्छे काजकिरिया गर्ने चलन फरक छ । तर प्रायः सबैमा १३ दिनसम्म चल्दो रहेछ । सबै जातीमा समान चलन चाहिँ भोज हो। भोजमा खर्च ग¥यो भने छिट्टै मोक्ष प्राप्त हुन्छ र जति बढी भोज ग¥यो, त्यति नाम र जश मिल्छ भन्ने विश्वास गरिन्छ । साथै मृत्युपछि स्वर्ग जान सहज हुने बुझाइ पनि समाजमा छ । तर यही चलनका कारण कतिपयलाई ऋण काढ्नुपर्ने, जग्गाजमिन बेच्नुपर्ने अवस्था आउँछ  यादव भन्छन्,‘मृत्युपछिको कर्म भोजमा कर लगाउनु अन्याय हो।’

प्रदेश २ मा २७.७ प्रतिशत अर्थात दुई लाख ५८ हजार दुई सय ४० परिवार गरिबीको रेखामुनि रहेको सरकारी तथ्यांक छ । सबैभन्दा बढी गरिब सप्तरीमा ४७ हजार आठ सय २२, दोस्रो सिराहा ४० हजार सात सय ५६ र तेस्रो रौतहटमा ३५ हजार पाँच सय ७४ परिवार छन्।    सभार– नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

जनता समाजवादीका कार्यकर्ता नेकपा र जनमतमा प्रवेश

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिका जनता समाजवादी पार्टी परित्याग गरि १ सय जना नेक

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६