उपेन्द्र यादव संसदमा जाँदा आकाश पल्टिन्छ ? , त्यस्तो कुनै अवस्था छैन : जय प्रकाश गुप्ता
- प्रकाशित मितिः बैशाख 2, 2080
- मधेश स्पेशल
- 140 पटक पढिएको
० बारा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनलाई कसरी हेर्दै हुनुहुन्छ ?
— यस्ता उपनिर्वाचनहरुले कहीं पनि कुनै प्रजातान्त्रिक मुलुकहरुमा राष्ट्रिय महत्व राख्दैन । यसको महत्व यस अर्थमा मात्र रहन्छ कि जनताले अहिलेको सत्ताधारी पक्षलाई कसरी हेरेका छन् । यसको एक अर्थमा आवधिक मूल्यांकन प्रस्तुत गर्दछ । चाहे यो उपनिर्वाचन भारत, बंगलादेश वा जहाँको होस् । तर अहिले जुन तीनवटा संसदीय क्षेत्रमा निर्वाचन हुन गइरहेको छ, यसको परिणामले जनताको अभिमतलाई पनि प्रकट गर्न सक्दैन । सही अभिमतलाई पनि प्रकट गर्न सक्दैन । यो निर्वाचनको परिणामलाई हेरेर प्रचण्ड नेतृत्वको सरकार कति लोकप्रिय छ अथवा उपेन्द्र यादव जितेमा उसको पार्टी कति लोकप्रिय भयो, अथवा तनहुँमा नेपाली कांग्रेस जिते कांग्रेसको लोकप्रियताको अवस्था के छ, यसको सही आँकलन हुन सक्दैन । किनभने एउटा ककसले गठबन्धन खडा गरेर यो निर्वाचन गरिरहेको छ । बारामा यदि उपेन्द्र यादवको जीत भयो भने नैतिक वा तथ्यगतरुपले दाबा गर्न सक्दैन कि यो उसको लोकप्रियता हो ।
० उपेन्द्र यादव यदि बारामा जित्नुभयो भने त्यो उहाँ वा उहाँको पार्टीको लोकप्रियता मानिँदैन ?
— उसका परपस्पर विरोधी शक्तिहरुले पनि उसलाई समर्थन गरेका छन् । जसपाको दस्तावेजमा एमाले, माओवादी र नेपाली कांग्रेसको बारेमा दृष्टिकोण हेर्नुभयो भने उसले सबैभन्दा खराब पार्टी नेपाली कांग्रेसलाई भनेको छ । मैले जसपाको अधिवेशनबाट पारित दस्तावेजको कुरा गरेको हुँ । तर अहिले कांग्रेस सबैभन्दा उग्र भएर उपेन्द्र यादवलाई जिताउनका लागि उर्दी जारी गरेको छ । उसका कुनै कार्यकर्ताले तल–माथि गरेमा कारबाही गरेर निष्काशित गर्ने कुरा गरेको छ । जुन एमालेलाई उपेन्द्र यादवले आफ्नो दस्तावेजमा राम्रो भनेको छ, त्यो एमाले उसको विपक्षमा छ । यस्तो ठाउँमा यदि उपेन्द्र यादवको विजय भयो भने यो जसपाको लोकप्रियताको मापन यस निर्वाचनबाट हुँदैन ।
० बारा २ मा उपेन्द्र यादवको अवस्था कस्तो देख्नुहुन्छ ?
— यो निर्वाचनमा उपेन्द्र यादव एउटा निरीह पात्रको रुपमा देखिनुभएको छ । पोखरीको माछाले पोखरीको पानी पाएन भने उसको जीवनको अर्थ रहँदैन, उ छटपटिएरै मर्छ । उपेन्द्र यादव २०६४ सालपछि नेपालको संसदीय राजनीतिका एउटा सिद्धहस्त खेलाडि भएका छन् । त्यसकारण उपेन्द्र यादवको सदा गन्तव्य सत्ता र संसदीय राजनीति हो । उपेन्द्र यादव अहिले जम्मा पाँच महिना संसदबाट बाहिर रहँदा उनी आकूल–ब्याकूल भए । उनी बडो दाउपेच गरेर आफ्नो पार्टीका एकजना होनहार मानिस रामसहाय यादवलाई उपराष्ट्रपति बनाउन लगाएर त्यो रिक्त पदमा चुनाव लड्न गएका छन् । भनेपछि, संसदीय राजनीति उनको अभिष्ट हो र त्यो अभिष्ट पूरा गर्ने थलो बारा २ भएको छ ।
० उहाँलाई बारा २ मा कतिको सहज छ ?
— सहज–असहजभन्दा पनि त्यहाँका मतदाताले सोच्ने विषय हो । अघिल्लो निर्वाचनको परिणामलाई हेर्ने हो भने धेरै सहज त देखिँदैन । तर उपेन्द्र यादवले चुनावी राजनीतिमा आफू जित्नका लागि जे–जति हत्कण्डाहरु प्रयोग गर्नुपर्ने थियो, सबै हत्कण्डाहरु यो निर्वाचनमा प्रयोग गरेका छन् । आफूलाई उसले बारामा यस रुपमा प्रस्तुत गरेका छन् कि उनी संसदमा नजाँदा संघीयता समाप्त हुन्छ, मधेशको अस्तित्व संसदमा रहँदैन भनेर आफूलाई एउटा अपरिहार्य व्यक्तित्वको रुपमा प्रस्तुत गरेका छन् । यसको सही आँकलन बारा २ का मतदाताले गर्ने हो ।
० तपाइँले मंसिर ४ को आमनिर्वाचनको पूर्वसन्ध्यामा भन्नुभएको थियो कि उपेन्द्र यादवको पराजय मधेशको लागि ठूलो जीत हुनेछ । त्योअनुसार उहाँ दोब्बरभन्दा बढी मतले पराजित पनि हुनुभयो । मधेशको जीत भयो त ?
— त्यो मेरो अपेक्षा थियो । मैले आशा गरेको थिएँ कि उहाँ संसदभन्दा बाहिर रहनुभयो र मधेशका सवालहरुलाई नेतृत्व दिनुभयो भने र उहाँले पुनः इमान्दारिताका साथ राजनीति गर्नुभयो भने मधेशलाई फाइदा हुन्छ । तर यस पाँच महिनाको अवधिमा उहाँ त्यस्तो कुनै आचरण देखाउनुभएन । मैले सप्तरीको मतदातालाई आग्रह गरेको थिएँ कि चुनावमा उहाँलाई हराइदिनुस् । उहाँ हार्नुभयो भने मधेश आन्दोलनका लागि फेरि काम गर्नुहोला । सप्तरीका मतदाताले त उहाँलाई पराजित गरायो । जुन उद्देश्यका लागि सप्तरीका मतदाताले उहाँलाई पराजित गराए त्यो उद्देश्यका लागि उपेन्द्र यादवले काम गरेको देखिएन । अब बाराको बारेमा म भन्न सक्दिँन । मैले सुन्दैछु, उहाँले बारामा दुईटा जातिको समीकरण बनाउनुभएको छ । निर्णायक शक्तिहरुलाई पनि उहाँले आफू अनुकूल बनाउने प्रयास गर्नुभएको छ । जुन पार्टीसँग उहाँको पानी बाराबार थियो, त्यसका सामु पनि झुकेर समझदारी गर्नुभएको छ । मैले यतिसम्म सुनेको छु कि कांग्रेसको समर्थन लिनका लागि उहाँले यो निर्वाचनपछि मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसलाई दिनेसमेत कबुलियत गर्नुभएको छ । यस्ता अनेक तिकडम र उपक्रमहरु खडा गरेर उहाँ निर्वाचनको मैदानमा हुनुहुन्छ । मलाई थाहा छैन परिणाम के हुन्छ । किनभने म सप्तरीको मतदाताको मन बुझ्न सक्दछु, बाराको मन अहिले बुझेको छैन ।
० सप्तरीमा उपेन्द्र यादव चुनाव हार्दा उहाँले राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरुले हराएको गुनासो गर्नुभयो । वास्तवमा सप्तरीमा राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरुको प्रभाव थियो त ?
— उपेन्द्र यादवले आफ्नो पराजयमा यो भन्नु कि मलाई देशी–विदेशी शक्तिले हराए, बडो अनैतिक कुरो हुनेछ । सप्तरीका जनताप्रति फेरि पनि उहाँ अनास्था र अपमान गरेको ठहरिन्छ । मंसिरदेखि अहिलेसम्म त पाँच महिना मात्रै भयो । यदि कुनै विदेशी शक्ति उपेन्द्र यादवलाई सप्तरीमा हराउन लागेको थियो र उपेन्द्र यादवलाई नहराइ नहुने थियो भने अहिले राजनीतिमा के यस्तो बदलाव आयो कि त्यो शक्तिहरुले उपेन्द्रलाई बारामा हराउन जाँदैन ? उपेन्द्रले अहिले भन्नुप¥यो नि कि त्यो शक्ति बारामा पनि लागेको छ । यदि उपेन्द्रले भारतलाई इंगित गरेको हो भने अहिले बाराबासीलाई भन्नुपर्दथ्यो नि । हारेपछि भोलि फेरि भन्लान् । हालसालै उपेन्द्र यादवले भारतीय राजदूत र प्रमुख कर्मचारीहरुसँग भेटे, सहयोग मागे र उनीहरुले पनि आश्वासन दिएका छन् । त्यसकारणले सप्तरीमा उपेन्द्र यादवले भनेका कुराहरु पत्याउने कुनै आधार छैन । उनले मतदातालाई भ्रमित पार्नका लागि त्यस्ता कुराहरु भनेका छन् । त्यस्तो अवस्था सप्तरीमा थिएन । सप्तरीका मतदाताले नै उनलाई मत नदिएको हो ।
० संसदमा उपेन्द्र यादवको उपस्थिति आवश्यक छ कि छैन ?
— हेर्नुस्, भर्खरै माधव नेपालजी बारा २ जानुभएको थियो । उहाँले भन्नुभयो कि उपेन्द्र यादवजस्तो नेतृत्वको संसदमा आवश्यकता छ । उहाँले मधेशका लागि उपेन्द्र जस्तो व्यक्तित्व संसदमा आवश्यकता छ, त्यसकारणलो बाराका मतदाताले उपेन्द्रलाई जिताउनुपर्छ भन्नुभएको थियो । २०६४ देखि उपेन्द्र यादव लगातार संसदमा छन् । सबै पार्टीसँग बारम्बार सहकार्य गरी सरकारमा पनि बसे । भनेपछि हिजोको दिनमा संसदमा उपेन्द्र यादवले मधेश वा देशका लागि के भूमिका निर्वाह गरे ? उनी रातिसम्म केपी ओलीको सरकारमा मन्त्री हुन्थे, विहान प्रचण्डको सरकारमा मन्त्री हुन पुग्थे । संसदमा रहेर उनले राष्ट्रिय राजनीतिमा के भूमिका निर्वाह गरे त ? २०६४ सालपछि लगातार संसदमा बस्ने थोरै मान्छेमध्ये उपेन्द्र यादव पनि एक हुन् । संसदीय उपस्थिति हेर्नुहुन्छ भने सबै पार्टीका नेताहरुभन्दा उपेन्द्र यादवको संसदमा उपस्थिति कम रहेको छ । उनी संसदमा यदाकदा मात्रै बोल्दथे । अहिले उनले आफ्नो महत्व देखाउनका लागि माधव नेपालबाट त्यो कुरा भन्न लगाएका हुन् । यसबीच पाँच महिना उनी संसदमा नबस्दा पनि सबै संसदीय खेलमा त छँदैछन् । उनले प्रदीप यादवहरुलाई मन्त्री बन्न नदिनका लागि अशोक राईलाई मन्त्री बनाए । बारा जिल्लामा आफू चुनाव लड्नका लागि रामसहाय यादवलाई उपराष्ट्रपति बनाए । अशोक राईलाई संसादीय दलको नेता नबनाउनका लागि त्यतिखेर रामसहाय यादवलाई दलको नेता बनाए । संसदीय दलको बैठकमा पार्टी अध्यक्षको रुपमा उनले भाग लिएकै छन् । सत्ता गठबन्धनको बैठकमा पनि जसपा अध्यक्षको हैसियतमा भाग लिएकै छन् । त्यसकारण उपेन्द्र यादव संसदमा जाँदा आकाश पल्टिन्छ, भोलिदेखि एकदम मधेशको जय–जयकार हुन्छ, त्यस्तो कुनै अवस्था छैन । तसर्थ, यो एउटा सामान्य उपनिर्वाचन हो, यसमा उपेन्द्र जितेर संसदमा जाँदा कुनै धेरै ठूलो परिवर्तन अथवा धेरै ठूलो उपलपुथल केही हुनेवाला छैन ।
० संघीयता, गणतन्त्र, मधेशका एजेण्डा जोगाउन संसदमा उपेन्द्र यादवको अपरिहार्यता छ भनेर भनिँदैछ नि ?
— संघीयता र गणतन्त्र उपर यदि चुनौती छ भने त्यो चुनौती आज एकाएक जन्मेको होइन । उपेन्द्र यादव पाँच महिना पहिले संसदमा हुँदा पनि त्यो चुनौती थियो नै । गणतन्त्र र संघीयता विरोधी शक्तिहरु त्यतिखेर पनि संसदमा थिए र संसदलाई प्रभावित पार्दथे । त्यसकारण आज उपेन्द्र यादव संसद गएर संघीयता र गणतन्त्रमाथिको संकट समाप्त हुन्छ भन्ने कुरा एउटा भ्रम छर्ने कुरा मात्रै हो । उपेन्द्र यादव संसदमा जाँदा पनि कुनै सुधार हुनेवाला छैन । उपेन्द्र यादव यदि संसदमा पुगे भने ओझेलमा परेका मधेशका मुद्दाहरु रातारात जागेर आउँछन् र शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, केपी ओलीले मधेशका मुद्दा सम्बोधन गर्छन् जस्तो केही हुनेवाला छैन । जुन शक्तिले मधेशको मुद्दालाई नजरअन्दाज गरे, त्यो शक्ति भनेकै कांग्रेस, माओवादी, एमाले हो । चुनावभन्दा केही समयअगाडि मात्रै उपेन्द्र यादव एमाले अध्यक्ष केपी ओलीलाई भेटे र आफ्नो लागि समर्थन मागे । जिते भने गर्वले नाक ठाडो पारेर म आफ्नो शक्तिमा जिते भन्ने अवस्था छैन । कांग्रेस र माओवादीको अगाडि शीर निहुराउनुपर्ने हुन्छ । भनेपछि उपेन्द्र यादव संसदमा जाँदा कुनै आशा गर्न सकिँदैन । उपेन्द्र यादवले आफ्नो मपाइँ, मैं ठूलो हुँ भनेर आफूलाई देखाउनका लागि संघीयताका पीता भनेर प्रचार गराउँदैछन् । उपेन्द्र यादव संसदमा गएर कुनै परिवर्तन हुने, संघीयता जोगिने अथवा खतराबाट पार पाउने त्यस्तो कुनै अवस्था छैन । बच्चालाई ललिपप खुवाएजस्तै उपेन्द्र यादवले मधेशका मतदातालाई ललिपप खुवाउन खोजिएको कुरा मात्रै हो ।
० डा.सीके राउतको संसदीय यात्राको पाँच महिने अवधिलाई कसरी हेर्नुभएको छ ?
— सीके राउत पनि वर्तमान सत्ता गठबन्धनको एउटा पक्ष हुन् । उहाँले उपेन्द्र यादवको विरुद्धमा आफ्नो उम्मेद्वार खडा गर्नुभएको छ । यो स्वाभाविक हो । किनभने सीके राउत अहिले मधेशमा आफ्नो स्पेस बनाउन खोजेको अवस्था छ । यसपालि लोसपाहरुले उपेन्द्रलाई समर्थन गरेको अवस्था छ । त्यसकारण सीके राउतले उपेन्द्रको पक्ष र विपक्षमा मधेशको राजनीतिलाई ध्रुवीकरण गर्न खोजेको देखिन्छ । सीके राउतको यो एउटा चतुर रणनीति पनि हो । अहिले उनी त्यसमा सफल पनि छन् । बारामा भइरहेको उपनिर्वाचन उपेन्द्र यादव भर्सेस सीके राउत भएको छ । शिवचन्द्र कुशवाहा एउटा पात्रको रुपमा मात्र उम्मेद्वार मात्रै हुन् । सारा खेमा उपेन्द्रको पक्षमा छन् । जातिवादी शक्ति, पैसा, पूरै सत्ता गठबन्धन उपेन्द्रको पक्षमा छन् । अर्कोतिर उपेन्द्रलाई हराउन पाएपछि मधेशमा मेरो स्पेस बढ्छ भन्ने सोचको साथ सीके राउत केही नयाँ नाराहरुका साथ चुनावी मैदानमा हुनुहुन्छ । यो एउटा स्वाभाविक प्रतिस्पर्धा हो । उपेन्द्रसँग चुनाव लड्नका लागि सजिलो छैन । त्यसकारण चुनावमा उपेन्द्रलाई हराउनका लागि सीके राउतले बोलेका कतिपय कुराहरु गलत र अव्यावहारिक कुराहरु गरेका छन् । तर, ती कुराहरु नगरे उपेन्द्रलाई हराउन पनि सकिँदैन ।
० उपेन्द्र यादव र सीके राउत मधेशको राजनीतिमा एकअर्काका कट्टर विरोधीको रुपमा देखिएका छन् । यसले मधेशको राजनीतिलाई कहाँ पु¥याउँछ ?
— मधेशको राजनीति कहाँ पुग्छ, त्यो त अर्को ठाउँमा छ । तर सीके राउतले उपेन्द्र यादवबाट धेरै कुरा सिकेको अवस्था छ । उपेन्द्र यादवकै राजनीतिबाट सीके राउत सिक्दैछन् । उपेन्द्र यादवले लोसपालाई समाप्त बनाए । किनभने उपेन्द्र यादवलाई राम्ररी थाहा थियो कि लोसपा यहीं रुपमा कायम रहँदासम्म उपेन्द्र यादवको पार्टी बलियो हुँदैन । त्यसकारणले विभिन्न आन्दोलनहरुमा एकातिर मोर्चा बनाउँथे भने अर्कोतिर नेता कार्यकर्ता चोर्ने गरेका थिए । लोसपालाई कमजोर बनाउने रणनीति थियो उपेन्द्र यादवको । त्यसले गर्दा उपेन्द्र यादव बलियो भएको देखिन्छ । सीके राउत पनि ठिक त्यहीं रणनीति अहिले अपनाएको अवस्था छ । सीके राउतले पनि हिसाव–किताब गरेका छन् कि उपेन्द्र यादवलाई कमजोर नगरीकन मेरो पार्टी बलियो हुँदैन । त्यसकारणले ठिक हुबहु त्यहीं कुराहरु सीके राउत पनि अपनाएको देखिन्छ । लोसपा त उपेन्द्र यादवसँग लाठीको शक्तिमा पनि कमजोर थियो । तर सीके राउतले अलिकति मिलिटेन्ट फोर्स पनि बनाएको छ । सीके राउतको मान्छे माथि उपेन्द्र यादवको मान्छेले हातपात गर्ने हिम्मत छैन । उपेन्द्रकै घरमा गएर सीके राउतले प्रहार गरेका छन् । त्यसकारण सीके राउतले मधेशमा कसरी राजनीति गर्नुपर्छ भनेर उपेन्द्रबाट सिक्दै छन् । बाराको चुनावले धेरै ठूलो उथलपुथल त गर्दैन । तर मधेशको राजनीति यसैप्रकारले अगाडि बढ्छ ।
० यदि बारा २ मा उपेन्द्र यादव पराजित हुनुभयो भने उहाँको राजनीतिक जीवनमा कस्तो धक्का लाग्छ ? सन्यास लिने अवस्था आउँछ कि ?
— उपेन्द्र यादव राजनीतिबाट सन्यास किन लिनुहुन्छ र । अस्ति एउटा निर्वाचन हार्नुभयो, अहिले यो उपनिर्वाचन हार्नुभयो भने सन्यास लिने कुरा आउँदैन । उहाँले भन्नुहोला कि म मैथिली क्षेत्रको मान्छे, भोजपुरी भाषा भएको ठाउँमा गए र बारावासीले मेरो भाषा बुझेन । उहाँले यो पनि भन्न सक्नुहोला कि विदेशी शक्तिले मलाई सप्तरीबाट लखेटेर बारामा पनि छोडेन । उहाँले यो पनि भनिदिनुहोला कि सीके राउतले युरोपबाट पैसा ल्याएर मलाई हराइदिए । उहाँ चतुर मान्छे हुनुहुन्छ, केही तर्क दिनुहोला । तर उहाँको पार्टी, उहाँकै रहन्छ । उहाँको पार्टीमा उहाँको नेतृत्वलाई चुनौती दिने कुनै मान्छे छैन । सबै उहाँको यस म्यान छन् । त्यसकारण उपेन्द्र यादव सांसद बन्नु हुन्न होला तर जस्तो हुनुहुन्छ, त्यस्तै रहनुहोला । अलिकति मनोबल खस्ला, त्यति मात्रै त हो ।
(बैशाख १, २०८० मधेस वाणीमा प्रकाशित